कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार ०८:५०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदैछ ।

बुधबार कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले आज जिल्लाका १०२ वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा गर्न निर्देशन दिएकोमा मकवानपुरमा भने पार्टीको सहमति जुटाएर अधिवेशनको मिति आजका लागि तय गरिएको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

उनका अनुसार वडा अधिवेशनबाट वडा सभापति, उपसभापति (२ जना), सचिव (२ जना), सह–सचिव (२ जना), कोषाध्यक्ष र सदस्यहरु चयन हुने छन् ।

गाउँपालिकाको हकमा पदाधिकारीसहित १५ जनाको र नगरपालिकाको हकमा २५ जनाको वडा समिति निर्माण गरिने तयारी गरिएको छ । समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरु –जातजाती, पीछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्मिल) लगायतको प्रतिनिधित्व समितिमा हुने जनाइएको छ ।

सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको प्रवक्ता कोइरालाले बताए । सकेसम्म सहमति जुटाएर वडा समिति चयन गर्ने, सहमति नजुटेका केही स्थानमा निर्वाचन हुने उनको भनाई छ ।

कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । मतदान गर्नुपर्ने अवस्था आएमा विहानै ८ बजे उम्मेदवारहरुले मनोनयन दर्ता गराउने छन् । दावी विरोधका लागि केही समय छुट्याइएको छ भने ११ः३० बजे सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म निरन्तर चल्ने छ ।

निर्वाचन अधिकृतले साँझ ६ बजेबाट मत गणना प्रक्रिया सुरु हुने र आजै रातिसम्ममा वडासमिति तयार हुने जनाइएको छ ।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत आजै चयन गर्ने छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तिमा १६ जनादेखि ५० जना आज चुनिने प्रवक्ता कोइरालाले जानकारी दिए ।

मतदान प्रक्रियाको लागि सबै वडाहरुमा आवश्यक तयारी सम्पन्न गरिएको र मतदान अधिकृतहरुलाई पनि आवश्यक अनुशिक्षण प्रदान गरिसकिएको उनले बताए ।

वडा समिति निर्माण गर्नुका साथै संगठन विस्तारको अभियानलाई समेत प्राथमिकताका साथ अघि बढाइएको कांग्रेस मकवानपुरले जनाएको छ ।