सत्तापक्षले संवैधानिक अङ्ग कब्जा गर्न खोज्दा प्रजातन्त्र कमजोर भयो – कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले सत्तापक्षबाटै संवैधानिक अङ्ग कब्जा गर्न खोजिँदा प्रजातन्त्र कमजोर हुँदै गएको बताएका छन् ।
उनले नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएकोसमेत बताए ।
आज मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि ब्यापार भएको भन्दै चिन्ता प्रकट गरे ।
इमानदार र विकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरणतर्फ गैरहेकोमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी भएको
बताए ।
सरकारले भएका उद्योग धन्दा कौडीको मूल्यमा बेचेर युवालाई भने रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाएको उनले आरोप लगाए ।
कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले राप्रपामा अहिले कमल थापाको बिकल्प नभएको भन्दै महाधिवेशन ,संगठन र निर्वाचन केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए ।
सोही कार्यक्रममा केही युवाहरु विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेताहरु नेताहरु गुरुप्रसाद सापकोटा , दामोदर वाग्ले, शुक्र प्रजा,खिलप्रसाद चौँलागाई, अर्जुन ढुङ्गाना, कोइशोर मैनाली , अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटालगायत उपस्थित थिए ।
