मकवानपुरमा कांग्रेस क्रियाशिल हस्तान्तरणसँगै पार्टी कार्यालयमा सार्वजनिक

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १८:४७

मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको क्रियाशिल हस्तान्तरण गरेसँगै पार्टी कार्यालयमा सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बिहीबार मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरेसँगै मकवानपुरका क्रियाशील सदस्यहरूको नामावली जिल्ला पार्टी कार्यालयमा सार्वजनिक गरि टाँस गरिएको छ । सार्वजनिक नामावलीमा कुनै त्रुटी भए भदौ १९ गते दिउँसो २ बजेसम्म वडा सभापतिसँगको समन्वयमा जानकारी गराउन जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।

यसैगरी बिहीबार नै निर्वाचन निर्देशिकाबारे समेत छलफल भएको छ । निर्वाचनमा खटिने नेपाल शिक्षक संघ, प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए), प्रध्यापक संघका प्रतिनिधि, जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति लगायतसँग छलफल गरिएको हो ।

छलफलमा जिल्ला निर्वाचन अधिकृत सुवेदी, जिल्ला सभापति इन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकारहरू उमा दाहाल, प्रभात दाहाल, भरत पराजुली, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल बिक, सहसचिव रामबाबु बानियाँ लगायतका सहभागिता रहेको थियो ।

मकवानपुरमा ५ हजार २ सय ३७ नयाँ र ४ हजार ३ सय ५ पुरानो गरि ९ हजार ५ सय ४४ जना क्रियाशील सदस्य रहेका छन् । मकवानपुरमा भदौ २० गते हुने निर्वाचनबाट जिल्लाको १०२ वडामा वडा कार्यसमिति र १७ सय २ बुथ प्रतिनिधि छनौट हुनेछ ।