मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१ पुग्यो, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १६:४१
filr-photo

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६१ जना पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १६१ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडामा हालसम्म कोरोना संक्रमणबाट मृृत्यु हुनेको संख्या ११४ जना रहेका छन् ।

यसैगरी, संक्रमणका कारण थाहानगरपालिकाका ९ जना, मकवानपुरगी गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १३ जना, भीमफेदी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, जिल्लामा आज एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ जनाको एन्टीजेश परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ७ सय २५ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।