मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १२:१२

काठमाडौं । सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्ताले सरकार विस्तारको विषय टुंगोमा पुर्याउने बताइएको छ ।

देउवा नेतृत्वको सरकारले डेढ महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । हालसम्म कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै नियुक्त भएका छन् ।

कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन । सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले भने सरकारमा जाने निश्चित गरिसकेको छैन ।

कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा सरकारमा जाने तयारीमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । उनीहरू पनि सरकारमा जाने वा नजाने थाहा भएको छैन ।