मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने कानुनमन्त्री कार्कीको भनाई

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १४:३४

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।

उनले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताएका हुन् ।

सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुरा भइरहेको बताए ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली काँग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए ।

एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए ।