पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि

तु खबर संवाददाता
२०७८ भाद्र ११,शुक्रबार ०९:५०
filr-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ ।

बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी डलर पुगेको बताएको हो ।

यस्तो मूल्य अघिल्लो आर्थिक वर्ष प्रति ब्यारेल ४३ दशमलव ९६ अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

समिक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि आइरहँदा यता सुनको मूल्यमा भने सामान्य वृद्धि मात्र भएको बैंकले जनाएको छ ।

वार्षिक रिर्पोट अनुसार २०७७ असार मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रति आउन्स सुनको मूल्य १ हजार ८०४ दशमलव ६० अमेरिकी डलर रहेकोमा २०७८ असार मसान्तमा १ दशमलव १ प्रतिशतले वृद्धि भई १ हजार ८२३ दशमलव ७५ अमेरिकी डलर मात्र पुगेको बैंकले जनाएको छ ।