मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार ०९:१५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान फलाम बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली बस्ने वर्ष २८ को भोजराज बस्नेत रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका वडा नम्वर ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र सह–चालक सोही ठाउँ बस्ने २४ बर्षीय सरोज आचार्य रहेका छन् ।

घाइते चालकको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालकको चुरेहिलमा उपचारपश्चात थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

उनका अनुसार, हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली रहेको र मुचुल्का उठाउन काम भइरहेको छ ।