एकसाता नबित्दै मुख्यमन्त्री शाक्यलाई सत्ता जोगाउन सकस

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार १३:००
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

मकवानपुर । बागमती प्रदेशमा सरकार परिवर्तन भएको एकसाता नबित्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) लाई पद जोगाउन समस्या हुने देखिएको छ ।

भदौ २ गते बुधबार बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेपछि एमालेको एकल बहुमतसहितको बागमती सरकार ढल्ले निश्चित भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपश्चात प्रदेशमा आफ्नो दलको सरकार टिकाइराख्न माधव नेपाल पक्षको नेतृत्व संहालिरहेकी शाक्यलाई मुख्यमन्त्रीको अफर दिएका थिए ।

उनले माधव नेपालको पार्टीमा नगई ओलीलाई साथ दिएकै कारण मुख्यमन्त्री पद उपहार पाएकी हुन् ।

मुख्यमन्त्री नियुक्त भएपछि उनले एमाले विवाद मिलाउन आफुलाई तटस्थ देखाउँदै आएकी छिन् । उनले प्रदेश सरकार समेत हालसम्म विस्तार गरिनन् । उनले ओली र नेपाल दुवैको सहमतिमा आफु मुख्यमन्त्री नियुक्त भएको बताउँदै आएकी छिन् । अर्थात, उनले आफ्नो कित्ता क्लियर गरिसकेकी छैनन् ।

माधव नेपालले पनि शाक्य आफ्नै सल्लाह अनुसार मुख्यमन्त्री भएको बताएका छन् ।

उनले संचारकर्मीहरुसंग कुराकानीको क्रममा भने, ‘मेरै सल्लाहमा नै उहाँ मुख्यमन्त्री बन्नुभएको हो । मैले अष्टलक्ष्मीजीलाई मात्रै होइन पार्टीका आम नेता तथा कार्यकर्ता र सुवेच्छुकहरुलाई नेकपा एकिकृत समाजवादीमा आउन अपिल गरेको छु । अध्यक्ष ओलीजीसमेतलाई आउन आग्रह गरेको छु । अब आउने वा नआउने उहाँहरुमाथि नै निर्भर हुने कुरा हो, ।’

नेता नेपाल निकटका नेताहरुले मुख्यमन्त्री शाक्यले एमाले छाड्ने बताउँदै आएका छन् । माधव नेपालले कित्ता क्लियर गर्न नेता तथा कार्यकर्ताहरुलाई २१ दिनको अवधि पनि तोकिदिएका छन् ।

यता, मंगलबार मुख्यमन्त्री शाक्य नेकपा एमालेको स्थायी कमिटीको बैठकमा सहभागि भएकी छिन् ।

उनीसंगै माधव पक्षका नेताहरु भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताहरु पनि सहभागि थिए । एमाले एकताको सन्देश दिन उनीहरुले अध्यक्ष ओलीसंग सामूहिक तस्वीरसमेत खिचाएका छन् ।

बागमती प्रदेशमा नेकपा एमालेको कूल ५६ जना मध्ये माधव पक्षका मात्रै २२ जना सांसद रहेका छन् । एमालेका ८ जना सांसदले खुलेरै माधव पक्षको साथ दिइरहेका छन् ।

मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धारा हुँमागाई, शान्ति पौडेल, पार्वती शिलवाल, र रमा आले मगरलगायतका सांसद्हरु माधव पक्षमा खुलेरै लागेका छन् । माधव पक्षका प्रभावशाली नेता मानिएका राजेन्द्र पाण्डेले २१ दिनभित्रमा त्यो संख्या बडेर १६ पुग्ने बताएका छन् ।

प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । शाक्यले आफ्नो नेतृत्वमा सरकार टिकाइराख्न ५६ सांसदको साथ आवश्यक रहन्छ । एमालेको क्याम्प नछाडे उनलाई माधव पक्षले साथ दिने संभावना रहँदैन । अर्थात, उनी अल्पमतमा पर्ने देखिन्छ ।

गठबन्धनको साथ छोडेर केपी ओलीको क्याम्पमा उभिएकी शाक्यलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसको समर्थन रहने संभावना पनि न्यून देखिन्छ ।

अहिलेको अवस्थामा उनले एमालेमै रहँदा सत्ता टिकाउन अर्को विकल्प भनेको विपक्षी स–साना दलको समर्थन लिनु हो । प्रदेशमा विवेकशील साझाको ३, राप्रपाको २, नेमकिपाको २ र १ स्वतन्त्र गरी ८ जना सांसद रहेका छन् ।

उनलाई आठै जना सांसदले समर्थन गर्ने संभावना पनि न्यून छ । यदि, उनले साना दलको सर्मथन पाइन् भनेपनि यो परिपक्क विकल्प भने होइन ।

केन्द्र सरकारमा माधव नेपाल नेतृत्वमा संगठिन समूह, माओवादी केन्द्र र कांग्रेसको गठबन्धन बलियो छ । मुख्यमन्त्री शाक्य माधव नेपालको क्याम्पमा आए उनको पद जोगिने नत्र माधव नेपाल पक्षबाट राजेन्द्र पाण्डेले मुख्यमन्त्री दावी गने माधव पक्षका एक जना सांसदले बताए ।