मकवानपुरमा एकैदिन ७ वटा पुस्तकालयको उद्घाटन हुने
मकवानपुर । पुस्तकालय अभियान समूह मकवानपुरले एकैदिन ७ वटा पुस्तकालय उद्घाटन गर्ने भएको छ ।अभियानले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा यही भदौ १५ गते मकवानपुरमा ७ वटा पुस्तकालयको उद्घाटन गर्ने भएको हो ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापनाका लागि सहयोग गर्दै आएको अभियान समूहले जिल्लाका ५ वटा गाउँपालिकामा ७ वटा पुस्तकालय स्थापना गर्ने भएको हो ।
दिवसको अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा वडा नम्वर १, १७ र १७ गरी ३ वटा र बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा १/१ वटा पुस्तकालय स्थापना गर्ने भएको अभियानका सदस्य सुशील राज गिरीले जानकारी दिए ।
अभियान समूहले यसअघि ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ । मकवानपुर जिल्लामा ६ वटा र छिमेकी बारा जिल्लामा एउटा पुस्तकालय स्थापना गरेको हो ।
अभियान समूह मकवानपुरले १० जना सहयोगीको समूह बनाएर समुदायस्तरबाट पुस्तकालय स्थापना गर्न चाहनेलाई ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दै आएको छ । समुदायस्तरमै व्यवस्थापन समिति गठन गरेर पालिकाको सहयोगमा नियमित पुस्तकालय सञ्चालन गर्ने गरी अभियानले सहयोग गर्दै आएको छ ।
समुदायको सक्रियतामा हालसम्म स्थापित पुस्तकालयलाई सम्बन्धित पालिकाबाट आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भइरहेको छ ।
