मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ जना पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १८:१४
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगेको छ । जिल्लामा थप एक जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १५९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, संक्रमणका कारण मनहरी गाउँपालिका वडा नम्वर ३ की ५५ वर्षीष महिलाको मृत्यु भएको हो ।

ती महिलाको मदनभण्डारी स्वास्थ्य विज्ञाज प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गत साउन १४ गते कोराना पुष्टि भई भदौ ३ गते थप उपचारको लागि हेटौंडा अस्पताल भर्ना भएकी थिइन् ।

हालसम्म कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिकाका ११२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपािलकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १३ जना, भीमफेदी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।