हेटौंडाका तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार हेटौंडाका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक अनादर, सवारी ज्यान मुद्दा र लागूऔषधको मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३४ वर्षीय सन्तोष, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २७ वर्षीय उद्धव तिवारी र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय प्रदिप राज कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७७ साल साउन ११ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र रु. ३ हजार जरीवाना भुक्तान गर्न बाँकी सन्तोष साहलाई आज (बुधबार) प्रहरीले हेटौंडा–१० बाट पक्राउ गरेको हो ।
यसैगरी, मकवानपुर जिल्ला अदालत हेटौंडको मिति २०७५ साल असार १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु २ हजार जरीवाना भुक्तान गर्न बाँकी उद्धव तिवारीलाई मंगलबार हेटौंडा–१२ बाछ पक्राउ गरेको जनाइएको छ ।
त्यस्तै, मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७३ साल भदौ १५ गतेको फैसलाले लागुऔषध खैरो हिरोईन मुद्दामा २ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी फरार भएका प्रदिप राज कार्कीलाई प्रहरीले आज (बुधबार) हेटौंडा–५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
