हेटौंडाको तुल्सीमेहर तथा नारायणीमा अब व्यवहारिक शिक्षा संचालन हुने
मकवानपुर । हेटौंडाको तुल्सीमेहर मेमोरियल स्कुल तथा नारायणी कलेजमा अब व्यवहारिक शिक्षा संचालन हुने भएको छ । तुल्सीमेहर र नारायणी कलेजको जिम्मेवारी लिएका सार्क एजुकेशनले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।
फाउण्डेशनका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले नारायणी कलेज अब नयाँ व्यवस्थापनका साथ मन्टेश्वरीदेखि स्नातक तहसम्मको पढाईलाई व्यवहारिक रुपमा अगाडि बढाउने योजनाका साथ अघि बढेको जानकारी दिए ।
‘पुरानो शैलीको पढाईलाई परिवर्तन गर्दै अब हामी कक्षालाई ल्याबमा परिणत गर्नेछौं । हरेक विधालाई ल्याबमा पढाउनेछौं’, उनले भने, ‘अभ्यासका लागि २०/३० रोपनी जग्गा लिएर आवश्यक संरचना समेत बनाउँदैछौं ।’
यस्तै, फाउण्डेशनका सञ्चालक किसन बास्तोलाले निदाइरहेको शिक्षा प्रणालीलाई नारायणी कलेजले ब्युँताउन खोजेको जानकारी दिए । उनले अब तुल्सीमेहर विद्यालयको नाम सार्क ओपन स्कुल र नारायणी कलेजको नाम सार्क बिजनेस कलेज हुने बताए ।
यसैगरी, नारायणी कलेजका प्रिन्सिपल रघुनाथ खरालले तुल्सीमेहर र नारायणीलाई अझै राम्रो बनाउनका लागि सार्क एजुकेशन फाउण्डेसनसँग सहकार्य गरिएको जानकारी दिए ।
सार्क एजुकेशन फाउण्डेशनले यसअघि महेन्द्रनगर, सुर्खेत, धनगढी, काठमाडौलगायतको शहरमा शिक्षा क्षेत्रमा काम गरिरहेको जानकारी दिइएको छ ।
