थप ३६११ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १७:०३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५६ जनामा र ५ हजार ५ सय १८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ । आज देशभर २ हजार ४ सय ५८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।