विभिन्न मुद्दामा फरार चार जना मकवानपुर प्रहरीद्वारा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा, लागूऔषध गाँजा मुद्दामा र चेक अनादर मुद्दामा फरार चार जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यायल मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने १८ वर्षीय राजिन्द्र मोक्तान, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ३ बस्ने ३० वर्षीय पुर्णबहादुर गोले, मकवानपुरको कैलाश गउँपालिका वडा नम्वर १ बस्ने ३७ वर्षीय पेमा योञ्जन र सोही गाउँपालिका वडा नम्वर २ बस्ने २७ वर्षीय दिलबहादुर नेगी रहेका छन् ।
मकवानपुर जिल्ला अदालतको मिति २०७७ माघ २८ गतेको फैसलाले चोरी मुद्दामा १ बर्ष ४ महिना कैद र रु. २० हजार जरिवाना भुक्तान गबर्न बाँकी रही फरार रहेका मनहरीका राजिन्द्र मोक्तानलाई प्रहरीले आइतबार मनहरी–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुर जिल्ला अदालतको मिति २०७८ बैशाख १६ गतेको फैसलाले लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिन कैदभुक्तान गर्न बाँकी रही फरार रहेका पुर्णबहादुर गोलेलाई प्रहरीले आइतबार हेटौंडा–२ बाट पक्राउ गरेको हो ।
यस्तै, मकवानपुर जिल्ला अदालतको मिति २०७८ बैशाख १७ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका पेमा योञ्जनलाई प्रहरीले आइतबार हेटौंडा–२ बाट पक्राउ गरेको हो ।
त्यस्तै, मकवानपुर जिल्ला अदालतको मिति २०७७ फागुन १७ गतेको फैसलाले चेक अनादर मुद्दामा रु. १ हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका दिलबहादुर नेगीलाई आइतबार हेटौंडा–२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले आइतबार पक्राउ परेका राजिन्द्र मोक्तान र कर्णबहादुर गोलेलाई जिल्ला अदालतमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको र चेक अनादर मुद्दामा फरार रहेका पेमा योञ्जन र दिलबहादुर नेगीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।
