बहुमुखी बन्यो हेटौंडा क्याम्पस, ११ को दिवा कक्षा संचालन हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित हेटौंडा क्याम्पस यसै बर्षदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको छ ।
विगतमा शिक्षा संकायमा मात्रै अध्यापन गराउँदै आएको यस क्याम्पसले अब भने अन्य शंकायहरुमा पनि अध्यापन गराउने भएको हो । विभिन्न तहमा शिक्षा, वाणिज्य, मानविकी संकाय र प्राविधिक विषयसमेत अध्यापन गराइने क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए ।
विद्यालयले एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुलाई विभिन्न संकायमा कक्षा ११ मा भर्ना खुला गरिएको र दिवा कक्षा संचालन गर्ने समेत जनाएको छ । उसले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ ।
क्याम्पसले कूल विद्यार्थीमध्ये ७ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको र विद्यालयले सिफारिस गरेको आधारमा सो सुविधा प्रदान गरिने जनाएको छ ।
आफ्नै जग्गा तथा भवन नहुँदा करिब १५ बर्षदेखि भुटनदेवी माविको परिसरमा संचालनमा रहेको हेटौंडा क्याम्पसले अब भने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ मा करिब २ कठ्ठा जग्गा खरिद गरेको क्याम्पस प्रमुख मानन्धरले बताए ।
उनका अनुसार यसैबर्ष सो जग्गामा भवन निर्माण गर्ने कार्य आरम्भ गरिने र त्यसका लागि आवश्यक लगानी जुटाउने काम भइरहेको छ । भवन निर्माण पश्चात क्याम्पसले प्राविधिक विषयसमेत अध्यापन गराउने योजना बनाएको छ ।
शिक्षा क्षेत्रमा कोरोनाको प्रभावबारे अन्तरक्रिया
क्याम्पसले कोरोना संक्रमणको कारण शिक्षा क्षेत्रमा परेको प्रभावको विषयमा मकवानपुरका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाबीच अन्तरक्रिया गरेको छ ।
राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख घिमिरेले मकवानपुरका १ सय ३१ वटा विद्यालयका ६ हजार भन्दा बढी विद्यार्थीहरु एसइइ परिक्षा उर्तीण हुन सफल भएको जानकारी दिए । उनले ठूलो संख्यामा विद्यार्थीहरु उर्तीण भएको र कोरोनाको कहरमा उनीहरुलाई उच्च शिक्षा प्रदान गर्न चुनौती भएपनि त्यसको व्यवस्थापन मिलाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
सबै ग्रामिण भेगका विद्यार्थीहरु बजार आएर अध्ययन गर्न कठिनाई हुने भन्दै उनले विद्यार्थी संख्याको आधारमा केही विद्यालयहरुलाई उच्च शिक्षा अध्यापनको अनुमति दिइनुपर्ने उल्लेख गरे ।
उनले भने ‘ विद्यार्थीहरुलाई सकेसम्म स्थानीय विद्यालयबाटै उच्च शिक्षा अध्यापन गराउनुपर्छ । विद्यार्थी संख्या निकै कम भए उच्च शिक्षा अध्यापनको अनुमति दिन सकिँदैन, त्यस्ता विद्यालयका विद्यार्थीहरुलाई बैकल्पिक शिक्षा प्रणालीमा जोड्नुपर्छ । त्यसका लागि स्थानीय तहको भुमिका महत्वपूर्ण रहन्छ । स्थानीय तहले फ्रि इन्टरनेटको व्यवस्था मिलाइदिए विद्यार्थीहरुलाई सहज हुने थियो ।’
अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले जिल्लाको दूर्गम क्षेत्रमा विद्यालय संचालन गरी भौतिक उपस्थितिमा अध्यापन गराउन कठिनाई भएको गुनासो गरे ।
इन्टरनेटको पहुँच नपुगेका कारण विद्यार्थीहरुलाई पठनपाठन गराउन नसकिएको विषयमा आवाज उठेको थियो ।
विद्यार्थीको पहुँचमा स्मार्ट फोन वा इन्टरनेट चल्ने डिभाइस नहुनु, डिभाइसको उपलब्धता भएपनि इन्टरनेट नहुनु र शिक्षण सिकाइमा प्रविधिको पर्याप्त अभ्यास भइनसकेकाले अध्यापन प्रभावकारी नभएको उनीहरुको भनाई थियो ।
२०४५ सालमा रत्नज्योति क्याम्पस काठमाडौँको शाखाका रूपमा स्थापित यस क्याम्पस २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भएको थियो ।
