वंशगोपाल प्राविधिक शिक्षालयमा सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार ११:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला गरेको जनाएको छ ।

प्राविधिक शिक्षालयका संयोजक रविन पाठकले भर्ना खुला गरिसकिएको र भदौ १८ गतेसम्म योग्य र इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने जानकारी दिए ।

उनले शिक्षालयमा उत्कृष्ठ ल्याब, वर्कशप, व्यवस्थित ड्रइङ रुम, आकर्षक कम्प्यूटर ल्याब स्थापना भइसकेको र अनुमवी प्रशिक्षकबाट अत्याधुनिक प्रविधिमार्फत् अध्यापन क्रियाकलाप संचालन गरिनेसमेत जानकारी दिएका छन् ।

प्राविधिक शिक्षा अध्यापन गराउनको लागि छुट्टै र व्यवस्थित भवन रहेको र टाढाका विद्यार्थीहरुका लागि यातायातको पनि प्रबन्ध मिलाइएको उनले बताए ।

सिटिइभिटीबाट मान्यता प्राप्त यस विद्यालयले एसईई पछि ३ बर्षे डिप्लोमा तहको सिभिल तथा जियोमेटिक्स सर्वे इन्जिनियरिङ अध्यापन गराउने पहिलो शिक्षालयको रुपमा रुपमा चिनाउन सफल भएको छ ।

कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गराउने मकवानपुर जिल्लाकै पहिलो विद्यालयको रुपमा चिनाउन सफल यस विद्यालयले यसबर्ष पनि न्यूनतम शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराउने र आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था मिलाइएको प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।

उनले कक्षा ११ मा साइन्स, एजुकेशन, म्यानेजमेन्ट र ह्युमानिटिजलगायतका संकायमा भर्ना आवेदन खुला गरिएको जानकारी दिए ।