हेटौंडा खानेपानी बोर्डद्वारा ९५ प्रतिशत महसुल उठाउन सफल
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष २०७६/०७८ मा बिलिङ्ग गरेकोमा ९ करोड १८ लाख ७२ हजार मध्ये ९ करोड १८ लाख ७२ हजार अर्थात ९५ दशमलब १९ प्रतिशत महसुल उठाउन सफल भएको जनाएको छ । बोर्डले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।
बोर्डले हेटौँडा नगरभित्रका १४ वटा वडाको विभिन्न भु–भागमा बसोबास गर्ने १ लाख ३५ हजार नगरवासीलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले जानकारी दिए ।
बोर्डले नगरबासीलाई एउटा सतहगत, २१ वटा डिप बोरीङ, ७ वटा समवेलबाट नियमित दैनिक ६ देखी ७ घण्टा करिब २० हजार ८ सय ८४ धाराहरूमा गरी १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको कार्यकारी निर्देशक ढकालले बताए ।
उक्त कार्यक्रम बोर्डका अध्यक्ष प्रताब विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले स्थानीय सरकारले अहिले बोर्डले खुवाएको महसुलमा घटाउनका लागि प्रयत्न गर्ने बताए । हेटौंडाका पनि विकट क्षेत्रमा न्युनतम पूर्वाधार विकासका काम सडक, खानेपानीका क्षेत्रमा सहयोग गरिएको उनले बताए ।
