देउवानिकट जिल्ला सभापतिहरुको भेलाको ८ बुँदे आग्रह

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार २०:०१
file-photo

मकवानपुर  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरुको भेलाले ८ बुँदे आग्रहसहित भेला सम्पन्न गरेको छ ।

ललितपुरमा भएको देउवा निकट भेलाले ७ प्रदेशमा कांग्रेस पछाडी रहेपनि भारी बहुमतसहित सरकारको नेतृत्व गरेको भन्दै सभापति देउवाको प्रशंसा गरेका छन् । देउवा निकट जिल्ला सभापतिहरुले ६३ सांसद भएको कांग्रेसले १६५ सांसदको भारी बहुमतसहित सरकारको नेतृत्व गरेको भन्दै नेतृत्वको प्रशंसा गरेको बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर  बानियाँले जानकारी दिए ।

नेता बानियाँले जिल्ला सभापतिका नाममा पौडेल पक्षले बोलाएको भेलाप्रति जिल्ला सभापतिहरुको घोर आपत्ति रहेको बताउँदै अनाधिकृत भेलामा गएर सम्बोधन गर्ने वरिष्ठ नेतालगायत सबैप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण रहेको बताए । नेता बानियाँले एकातिर अधिवेशन भएन भन्ने र अर्कातिर गुटको भेला बोलाएर अधिवेशन भाँड्ने षड्यन्त्र भएको बताउँदै विधान विपरीत गतिविधि नगर्नुका साथै क्रियाशील सदस्यता र पार्टीको वैधानिकताका सन्दर्भमा फैलाइएको भ्रमबाट मुक्त नेतृत्वलाई आह्वान गर्दै पार्टीमा अधिवेशनको वातावरण बनाउन जिल्ला सभापतिहरूको अनुरोध रहेको बताए ।

भेलापछि जारी गरिएको ८ बुँदे आग्रहमा भनिएको छ, “त्यतिबेला नेकपाका नेताहरु अबको ५० वर्ष नेपाली कांग्रेस सरकारबाट बाहिर बस्छ भनी हाम्रो खिसिट्युरी गर्थे भने संसदमै पनि तत्कालीन प्रधानमन्त्री हामीलाई निम्सरोजस्ता शब्द प्रयोग गर्थे । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक सुझबुझ र धैर्यताले चुनावको ४० महिनापछि नै ६३ सांसद भएको नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिबाट १६५ सांसदकाको भारी बहुमतसहित सरकारको नेतृत्व गर्न पुगेको छ ।”

उनीहरुले देउवाकै कारण केन्द्रमा मात्रै नभइ प्रदेशमा पनि सरकार गठन भएको भन्दै यो भन्दा ठूलो सफलता के हुन सक्ला ? भनेका छन् । यस्तो महान कार्यका कारण आम कांग्रेसका साथीहरु अत्यन्त खुसीमात्र छैनन्, उनीहरुमा लोकतन्त्रप्रति प्रतिवद्ध हाम्रो पार्टी र सभापतिले जुन आशाको किरण देखाउनुभएको छ, त्यसप्रति धन्य भएका छौँ ।

त्यतिमात्र नभइ सभापतिज्यूकै राजनीतिक सुझबुझ, धैर्यता र समयानुकुल निर्णयका कारण अहिले हामी प्रदेश २ सरकारमा सामेल भएका छौँ, गण्डकी प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बनेको छ, लुम्बिनी प्रदेशमा एक दुई दिनमै हामी सरकारमा सामेल हुँदैछौँ, कर्णाली प्रदेश सरकारमा हाम्रो सहभागिता छ भने सुदुरपश्चिम सरकारसमेत हाम्रो सहमतिमा टिकेको छ ।

आशा गरौँ, अब प्रदेश १ र वागमती प्रदेशमा पनि कांग्रेससहितको सरकार बन्ने सम्भावना छ । योभन्दा ठूलो राजनीतिक सफलता के हुन सक्ला ?, सभापतिहरूको निर्णयमा भनिएको छ ।