श्रीमतीको हत्या गरेको आरोपमा हेटौंडाका श्रेष्ठ पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ८ स्थित गुहेश्वरीबाट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बुधबार बिहान आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौं महानगरपालिका–८ स्थित गुहेश्वरी बस्ने ३९ वर्षीय राम श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई आफ्नै श्रीमती उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको हत्या गरेको आरोपमा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशाला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङ गर्भवती थिइन् ।
गुहेश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बस्दै आएका उनीबीच केही दिनअघि विवाद भएको र विवादकै क्रममा आज बिहान श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार, घटनाबारे श्रेष्ठ आफैंले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए । हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका र प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए ।
प्रहरीका अनुसार श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए । उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।
पक्राउ परेका श्रेष्ठले प्रहरीको बयानमा भनेका छन्, ’हाम्रो केही दिनअघि विवाद भएको थियो। विवादकै क्रममा श्रीमतीले तिमी आजदेखि मेरो लागि मर्यो भनेर चुरा फुटाइन्, त्यही कुरामा आज बिहान पनि विवाद भयो। अनि मैले घाँटी र मुख थिचेर हत्या गरेँ।’
पारिवारिक स्रोतका अनुसार उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेका थिए ।
प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
