लुम्बिनी सरकार: मुख्यमन्त्री पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बोलाइयो
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक दिउँसो १ बजे संचालन हुँदैछ ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवासको प्रस्ताव दर्ता गराएका थिए ।
विपक्षी गठबन्धनले यसअघि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध बैशाख ६ र २६ गते अविस्वास प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेलले ६ गते दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल हुने दिन बैशाख १९ गते राजीनामा दिएर एमालेको एकल बहुमत पुग्ने भन्दै पुनः सोही दिन मुख्यमन्त्रीमा नियुक्त भए ।
वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ ।
लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ आवश्यक पर्छ ।
