लागूऔषध नाईट्रोभेटसहित मकवानपुरका ठकुरी पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ महादेवस्थान बस्ने ३० वर्षीय मनिष ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनलाई प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० भुटनदेवीबाट लागूऔषध नाईट्रोभेट ५ हनार ४०० ट्याब्लेट र प्रदेश–०२–०२२ प ३७२९ नम्वरको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उनका अनुसार, सोमबार हेटौंडा–१० भुटनदेवी मोडस्थित सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको उक्त नम्वरको मोटसाइकल चालक ठकुरीले बोकेको झोलामा लुकाईछिपाई ल्याएको सो परिणामको नाईट्रोभेट बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।
