सर्वोच्चद्वारा जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

तु खबर संवाददाता
२०७८ श्रावण २५,सोमबार १४:४३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदको रिटमा अन्तरिक आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई कारवाही गरेपछि निजहरु सर्वोच्च पुगेका थिए ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि उनीहरुलाई पार्टीले कारवाही गरी हटाएको थियो । सो को जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो ।

तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो ।