भूमि आयोग खारेजीविरुद्ध हेटौंडामा विरोध प्रदर्शन

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०८:३०

मकवानपुर । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले हेटौंडामा बिरोध प्रदर्शन गरेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि बनेको भूमि सम्बन्धी समस्या समाधान आयोगको विघटनविरुद्ध हेटौंडामा अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ ।

महासंघले एमाले पार्टि कार्यालयबाट बुद्धचोकसम्म विरोध र्याली निकालेको थियो । सुकुम्वासीहरुलाई जग्गा दिनुको सट्टा लालपुर्जा वर्तमान सरकारले आयोगनै खारेज गरेको बिरोधमा प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले बताए ।

सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोगनै खारेज गरेपछी मकवानपुर जिल्लाका भुमिहिन र अव्यवस्थित ४० हजार परिवारलाई समस्या परेको छ । जिल्लाका पाँच वटा स्थानीय तहका ४० हजार ४ सय ६९ जनाले आयोगमा निवेदन दिएका थिए । तर, अरु पाँच वटा स्थानीय तहको निवेदन संकलनको काम सुरु गर्नै लाग्दा यो खारेजपछी समस्या भएको भुमि सम्बन्धी समस्या समाधान आयोगका मकवानपुर अध्यक्ष रामेश्वर रानाले बताए ।