समाचार फलोअप – हेटौंडाका दुई वडामा रंगशाला फिडरबाट विद्युत प्रसारण लाइन संचालन गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ का स्थानीयले केही दिनभित्रै नियमित विद्युत उपभोग गर्न पाउने भएका छन् ।
लामो समयदेखि नियमित विद्युत उपभोग गर्नबाट बञ्चित भएका उनीहरुको समस्या १५ दिनभित्रै समाधान गरिने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले सो क्षेत्रमा यसअघि विस्तार गरिएको ग्रामिण फिडर अन्तरगतको विद्युत प्रसारण लाइन हटाई रंगशाला फिडर अन्तरगतको नियमित विद्युत प्रसारण लाइन संचालन गर्ने तयारी गरेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा १७ का अध्यक्ष भैरवबहादुर राई र हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँ र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरसमेत सम्मिलित छलफलमा १५ दिनभित्रै सो क्षेत्रमा रंगशाला फिडर अन्तरगतको नियमित विद्युत प्रसारण लाइन विस्तार गर्ने सहमति भएको हो ।
हाल हटिया, हर्नामाडी र लगायतका क्षेत्रमा लामो समयदेखि विजुली आउँदै नआउने र आइहाले पनि धेरै पटक अवरुद्ध हुने गरेको छ ।
विद्युत अवरुद्ध हुँदा खानेपानी आपूर्तिमा समस्या भइरहेको र विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको अनलाइन कक्षा प्रभावित भएको स्थानीयको गुनासो छ ।
त्यस्तै त्यहाँका साना तथा ठूला उद्योग संचालनमा समस्या उत्पन्न हुनुको साथै पोल्ट्री व्यवसायीसमेत मर्कामा परेका छन् ।
विद्युत अवरुद्ध बनेपछि समस्या झेल्दै आएका स्थानीयहरुले बिहीबार फिडर परिवर्तनको मागसहित नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको ध्यानाकर्षण गराएका थिए ।

