बागमती प्रदेशका मन्त्रीद्वय पाण्डे र बस्नेतद्वारा पहिरोको स्थलगत निरीक्षण

तु खबर संवाददाता
२०७८ श्रावण २३, शनिबार ०८:२०

मकवानपुर । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थिति लापिलाङमा पहिरोको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रीद्धयले शुक्रबार सामुहिक रुपमा दोलखाको कालिन्चोकस्थित घट्टेखोलाको वरिपरी गएको ठूलो रानीबन पहिरोको स्थलगत निरीक्षण गरेका हुन् ।

पहिरोको निरीक्षण र स्थानीयसँग साक्षात्कार पश्चात मन्त्रीहरुलाई वडा नं ५ का अध्यक्ष सुबास थामीले पहिरोको तत्कालीन तथा दीर्घकालीन समाधानको मागपत्र सहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पत्र बुझ्दै मन्त्रीद्वयले तत्काल प्रतिपरिवार राहत स्वरुप २५ हजार र घर निर्माणका लागि प्रतिपरिवार ४ लाख दिने प्रदेश सरकारको निति भएकोले बस्ती स्थानान्तरणका लागि तत्काल सुरक्षित स्थान पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।

अवलोकनमा आन्तरिक मामिलामन्त्री, सामाजिक विकासमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सांसद जुनेली श्रेष्ठ, दोलखा जिल्ला समन्वय सभापति डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, कालिन्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक लगायतकोे सहभागीता थियो ।