महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा वाइवा पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १८:१८

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवा पक्राउ परेका छन् ।

आफुमाथि संचालक समिति सदस्य वाइवाले अभद्र व्यवहार गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ती चिकित्सक महिलाले दिएको उजुरीको आधारमा वाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

उनका अनुसार आरोपी वाइवालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत साउन १६ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको वनभोज कार्यक्रममा मदिरा सेवन गरी वाइवाले आफूलाई गाली गलौच गरेको भन्दै ती महिला चिकित्सकले प्रहरीमा उजुरी दिएकी थिइन् ।