मकवानपुरमा कोरोना संक्रमणबाट १४७ को मृत्यु, सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ ।
वितेको २४ घण्टामा मात्रै थप एक जनाको संक्रमणकै कारण मृत्यु भएको र ७० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर–१ की ४५ बर्षीया महिला रहेकी छिन् । गत साउन १४ गते कोरोना पुष्टि भई १९ गतेदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत उनको गएराति उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको
छ ।
२४ घण्टाकै अवधिमा पिसिआर प्रविधिबाट १ सय ३६ जनाको कोरोना परिक्षण गर्दा ६४ जना र एन्टिजेन प्रविधिमार्फत ६५ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार हाल मकवानपुरका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४५ पुगेको छ । उनीहरुमध्ये १ हजार ८९ जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न संस्थागत आइसोलेशन र अस्पतालमा उपचाररत रहेका छन् ।
मकवानपुरमा हालसम्म ४४ हजार ६ सय ८६ जनाको कोरोना परीक्षण गर्दा १३ हजार ८ सय ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।
उनीहरुमध्ये १२ हजार ५ सय २२ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले बताए ।
उनका अनुसार मकवानपुरका सक्रिय संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।
हालसम्म मकवानपुरका ८५ हजार ६ सय ४५ जनाले कोरोनाविरुद्धको पहिलो चरणको (भेरोसेल र कोभिसिल्ड) खोप प्राप्त गरेका छन् भने दोस्रो चरणको खोप लगाउनेको संख्या ३८ हजार ४३ रहेको कार्यालयको तथ्याङ्क छ ।
अमेरिकाबाट आएको जोन्सोन एण्ड जोन्सन खोप लगाउनेको एकिन संख्या भने आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
