झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । चेक बाउन्सको मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुरप्रताप थापा रहेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार चक्रपथबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी देव विकास बैंकको चेक काटेर दिएका थिए । त्यसरी बैंकिङ कसुर गरेको भन्दै पीडितले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले बैंकिङ कसुर (चेक बाउन्स) को मुद्दामा २०७६ साल भदौ ३ गते ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना तोकेको थियो।
सो आदेश कार्यान्वयन गराउन उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
