मकवानपुर प्रहरीद्वारा सात जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट चोरी भएको विद्युतीय पोलसहित सात जना पक्राउ परेका छन् । बागमती गाउँपालिका वडा नम्वर ४ झुरझुरेस्थित धरान चतरा सडकखण्डबाट २७ थान स्टिल ट्युबलर विद्युतीय पोलसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नम्वर १ बस्ने ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्वर १ बस्ने ३१ वर्षीय विवेक पोखरेल, संखुवासशभा खाँदवारी नगरपालिका वडा नम्वर ७ बस्ने २७ वर्षीय हरी नेपाल, मकवानपुरको बागमती गाउँपालिका–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र ४० वर्षीय देव पौडेल रहेका छन् ।
गाउँपालिकाको वडा नम्वर १ हात्तीढुंगेस्थित बाटो छेउमा रहेको ग्रीड सोला ईन्जिन ईफिसेन्सी आयोजनाको २७ थान स्टिल ट्युबलर विद्युतीय पोल मे १ ख २५०३ नम्बरको ट्रकमा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार ट्रक, नम्बर नखुलेको मोटरसाईकल, चोरीमा संलग्न सातै जनालाई ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
