सिन्धुपाल्चोकमा फेरी बाढी, १२ घर बगे
सिन्धुपाल्चोक । अविरल वर्षातका कारण सिन्धुपाल्चोकमा फेरी बाढी आएको छ । शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् ।
त्यस्तै चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ । हेलम्बु किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए । शनिबार आएको बाढीकारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकमा यसअघि गत असार १ मा बाढी आएको थियो । प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै बेपत्रा छन् ।
