कोरोनाबाट विदेशमा थप ३९ नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार १८:००
सांकेतिक तस्वीर

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो ३ साताको अवधिमा विदेशमा थप ३९ जना नेपाली नागरिकको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालीको कोरोना संक्रमणबाट सबैभन्दा धेरै मलेशियामा मृत्यु भएको छ । संक्रमणबाट मलेशियामा ३७ जना नेपाली नागरिकको मृत्यु भएको हो ।

यस्तै संक्रमणबाट, इराक र युगान्डामा १–१ जना नेपाली नागरिकको मृतयु भएको छ ।

संघका अनुसार कोरोनाका कारण हालसम्म भारतसहित विश्वका २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । इराकमा भने पहिलोपटक कोरोनाका कारण नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये हालसम्म १ लाख १७ हजार ५ सय २९ जना नेपाली नागरिक कोरोनामुक्त भएका छन् ।