सकियो मुख्यमन्त्री पौडेलले पाएको म्याद: आधिकारिक जवाफ आएन – सांसद पाण्डे
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्री डोरमणि पौडेलले सरकार परिवर्तनको विषयमा आफुहरुलाई कुनै आधिकारिक जवाफ नदिएको बताएका छन् ।
केही दिन अघि मुख्यमन्त्री पौडेललाई छलफलका लागि ३ दिनको म्याद दिइएको र उक्त म्याद आज सकिएको भएपनि हालसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको उनले बताए ।
माधव नेपाल पक्ष निकटका पाण्डेले बागमती प्रदेशमा एमाले एकताको नयाँ प्रयास सुरु भएको बताउँदै एकता जोगाउनका लागि सबैले आफ्नो तर्फबाट त्याग गर्न सक्नुपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले पनि विगत साढे ३ बर्षको सरकारको नेतृत्व गरिसकेकाले अब सरकार परिवर्तनको मुख्य एजेण्डालाई स्वीकार गरी एमालेकै माधव पक्षलाई नेतृत्व हस्तान्तरण गरेर पार्टी एकताका लागि त्याग गर्न सक्नुपर्ने उनले बताए ।
‘हामी पार्टी एकताको पक्षमा छौँ, हामीले पार्टी एकताको लागि त्याग गर्दै आएका छौँ । सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीज्यूले पनि अब नेतृत्व हामीलाई हस्तान्तरण गरेर पार्टी एकताको लागि त्याग गर्नुपर्छ ।’ उनले भने ।
केही विषयमा सहमति भएपनि सरकार परिवर्तनको मुख्य विषयले पूर्णता नपाएकाले माधव पक्षले बाध्य भएर म्याद दिनुपरेको उनको भनाई छ ।
तर, सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पौडेलले उक्त म्यादलाई बेवास्था गरी टार्ने काम गरिरहेको भन्दै मुख्यमन्त्री पौडेलले अग्रसरता देखाएलगत्तै सबै विषयमा सहमति जुट्ने उनको भनाई छ ।
यता, मुख्यमन्त्री पौडेल भने प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार गर्ने र ४ मन्त्रालय थप गरी सो मन्त्रालय माधव पक्षलाई दिई आफ्नै नेतृत्वमा सरकार टिकाउने दाउमा छन् । उनले सहमति जुट्ने अवस्था आए ४ मन्त्रालय थप गरिने र हाल रहेका सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत माधव पक्षलाई दिन तयार रहेको स्रोत बताउँछ ।
बागमती प्रदेशमा कूल ११० जना सांसदमध्ये हाल १०९ जना रहेका छन् ।
जसमा नेकपा एमालेको ५७, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, अन्य विपक्षी साना दलको ७ र एक जना स्वतन्त्र सांसद छन् ।
