मुख्यमन्त्री पौडेललाई ३ दिनको म्याद !

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १९:४१
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार संकटमा छ ।

केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशमा एमालेका सांसदहरुबीच एकताको नयाँ प्रयास सुरु भएपछि मुख्यमन्त्री पौडेलको पदीय आयु धरापमा परेको हो ।

एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा मुख्यमन्त्री पौडेल सुरक्षित रहेको विश्लेषण गरिएको भएपनि पार्टी भित्रकै विवादका कारण उनी संकटमा छन् ।

स्रोतले दिएको जानकारी अनुसार नेकपा एमालेको केन्द्रमा विवाद कायमै रहेको बेला बागमती प्रदेशका सांसदहरुले भने एकताको नयाँ प्रयास सुरु गरेका छन् ।

बागमती प्रदेशमा माधव नेपाल पक्षले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग गरेको छ । सरकारको नेतृत्व नपाएको खण्डमा केन्द्रीय समिकरण अनुसार आफुहरु मुख्यमन्त्री पौडेलविरुद्ध जाने माधव पक्षले चेतावनी दिएको छ ।

ओली पक्षले साढे ३ बर्षसम्म सरकारको नेतृत्व गरिसकेकाले पार्टी एकताको रक्षा गर्ने हो भने आफुहरुको नेतृत्वमा सरकार पुनर्गठन गर्नुपर्ने माधव पक्षले सर्त राखेको छ ।

मुख्यमन्त्री पौडेलले पनि साउन १५ गतेसम्ममा सरकार परिवर्तनको विषय टुंगोमा पुर्याउने आश्वासन दिएको स्रोतले बतायो ।

अब के हुन्छ ?

केन्द्रमा एमाले विवाद झनै कचल्टिँदै गएको छ । एमाले अन्तरविरोधकै कारण गण्डकी प्रदेशको नेतृत्व कांग्रेसको पोल्टामा पुगेको थियो । बागमती प्रदेशका एमालेका सांसदहरु गण्डकीको हालत व्यहोर्न नपरोस भन्नको लागि आफैँभित्र समस्याको समाधान खोजिरहेका छन् ।

माधव पक्षले ‘ तयाईहरु यतिका समय सत्तामा बस्नुभयो, अब सरकारको नेतृत्व परिवर्तन गर्ने र एमालेको एकता जोगाऔँ’ भन्दै माधव पक्षले प्रस्ताव गरेको छ ।ओली पक्षले पनि माधव पक्षको प्रस्तावलाई सकारात्मक रुपमा ग्रहण गरी छलफल अघि बढाउने आश्वासन दिएको छ ।

यदि, ओली पक्षले माधव पक्षलाई सरकारको नेतृत्व हस्तान्तरण नगरे माओवादी र कांग्रेसले मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने र विश्वासको मत लिँदा केन्द्रमा जस्तै माधव पक्ष ओली पक्षविरुद्ध जाने अर्थात मुख्यमन्त्री पौडेललाई विश्वासको मत नदिने माधव पक्षको रणनीति रहेको एक जना सांसदले तु खबरलाई बताए ।

बागमती प्रदेशमा कूल १ सय १० जना प्रदेशसभा सदस्यमध्ये हाल १०९ जना छन् । सत्तारुढ दल नेकपा एमालेको मात्रै ५७ जना सांसद छन्, जसमध्ये ३५ जना मुख्यमन्त्री पौडेको पक्षमा छन् भने २२ जना विपक्षमा खुलेरै देखिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको २३ र कांग्रेको २२ जना सांसद छन् । अन्य विपक्षी दलका ७ जना र एक जना स्वतन्त्र सांसद छन् ।
अंकगणितीय रुपमा मुख्यमन्त्री पौडेल एमालेको स्पष्ट बहुमतमा भएपनि ५ देखि ७ जना माधव पक्षको सांसदले विश्वासको मत नदिने हो भने सत्ता पल्टिने निश्चित
छ ।

यसअघि केन्द्रको विवाद उत्कर्षमा पुगेको बेला पनि पौडेल नेतृत्वको सरकारले एमालेको अर्को पक्षलाई बाइपास गरेर बजेट निर्माण गरेको थियो । एकता जोगाउने नाममा माधव पक्षले बजेट पारित गर्ने सन्दर्भमा पनि लचकता अपनाएको बुझिएको छ ।

केन्द्रको पछिल्लो राजनीतिक समीकरणलाई ध्यानमा राखेर कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गरे भने बाग्मती प्रदेश सरकार ढल्ने पक्का छ । अहिलेको केन्द्रीय समिकरणका कारण त्यहाँ नेपाल पक्षीय माननीयले पौडेलविरुद्ध भोट हाल्नुपर्ने हुन्छ । त्यसैले उनीहरूले पौडेललाई पछिल्लो भेटमा पनि ‘सबै पक्षलाई विचार गरेर अघि बढ्न सुझाव दिएका छन् ।

छलफल भइरहेको छ –प्रमुख सचेतक निरौला

नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले आफुहरु एमाले एकता र सरकारसमेत जोगाउने विषयमा गम्भीर भएर छलफलमा जुटेको प्रतिक्रिया दिँदै आएका
छन् ।

माधव पक्षले आफ्नो नेतृत्वमा सरकार परिवर्तन हुनुपर्ने माग राखेको बताउँदै उनले अब छलफल हुने र छलफलका क्रममा मुख्यमन्त्री पौडेलले योगदान गर्नुपर्ने अवस्था पनि आउनसक्ने बताएका छन् ।

उनले भने ‘हामी छलफल गरिरहेका छौँ, मुख्यमन्त्री डोरमणि पौडेलज्यूकै नेतृत्वमा सरकार यथावत रहने वा परिवर्तन हुने अहिले नै भन्न सकिने अवस्था छैन , त्यो छलफल पछि थाहा हुने कुरा हो ।’

सरकार परिवर्तन हुन्छ – नेता बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकार परिवर्तन हुने बताएका छन् ।

उनले चाँडै केन्द्र सरकारले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्ने बताए ।

केन्द्र सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुहुन्छ, त्यसपछि सरकार परिवर्तनको अध्याए सुरु हुन्छ– उनले भने ।