प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १३:४१
file-photo

काठमाडौं । सरकारले विभिन्न प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी भएको छ भने बागमतीका प्रदेश प्रमुख पनि फेर्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेका छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् ।

त्यस्तै बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।