प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
भेटमा देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारको सन्दर्भमा विशेष छलफल भएको जनाइएको छ ।
जनता समाजवादी पार्टी नेपाल जसपा पनि सरकारमा सहभागि हुने देखिएको छ । जसपालाई कसरी लैजाने भन्ने सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।
सोमबार निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिनुको साथै महन्थ ठाकुरले नयाँ दल दर्ता गर्न सक्ने फैसला गरेको थियो ।
गठबन्धनको सरकारमा सहभागि हुन अब जसपालाई थप सहज वातावरण बनेको विश्लेषण गरिएको छ ।
