हेटौँडाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १७:५०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा–३ लेवटबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र वन्य जन्तुको जस्तो देखिने १ थान सिङसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–२ बस्ने ४८ वर्षीय बिष्णु हरि अर्याल र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज अर्याल रहेको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आइतबार साँझ चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ४५५ नम्बरको ट्रकलाई प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त वस्तु र गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

प्रहरी नायब उपरीक्षक रिमाललका अनुसार, पक्राउ परेका विष्णु ट्रक चालक र सरोज ट्रकमा सवार हुन् ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।