जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

तु खबर संवाददाता
२०७८ श्रावण १०, आईतवार १८:२२

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल एजलासले उक्त मुद्धामा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई साउन १५ गते छलफलको लागि बोलाएको
छ ।

त्यस्तै सोही इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको हो ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव ओलीको विपक्षमा उभिएका थिए । उनले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका थिए ।

यता जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले भने ओलीसंग मिलेर सरकार गठनसमेत गर्न भ्याएका थिए ।

ओलीको बर्हिगमनसंगै प्रधानमन्त्री पदमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने जसपाका दुवै पक्षले विश्वासको मत दिएका थिए ।
यससंगै जसपा विवाद निरुपण हुने विश्लेषण गरिएको भएपनि जसपाको विवाद कायमै छ ।