नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार १५:४७

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए ।

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले साउन १२ गते वडा अधिवेशन, साउन १६ गते स्थानीय तहको अधिवेशन, साउन २० गते प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन२३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौं १ र २ गते र केन्द्रीय महाधिवेशन भदौ १६–१९ गते हुने कार्यतालिका थियो ।