निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न देउवाको निर्देशन

तु खबर संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १८:४९
file-photo

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

शुक्रबार बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा नै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति देउवाले कुनै पनि हालतमा निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कुन कुन तहको कसरी के हेरफेर गर्ने भन्ने विषयमा सबैजना मिलेर अगाडि बढ्न निर्देशन दिएको जानकारी दिए ।

तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने काँग्रेसको तयारी छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको देखिन्छ ।

काँग्रेसले यसअघि साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने र नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय गरेको थियो ।