बागमती प्रदेशः मुख्यमन्त्रीको पद जोगाउन ४ मन्त्रालय थप्ने तयारी

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार ११:५३
file-photo

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै संकटमा परेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो नेतृत्वको सरकार टिकाउन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ४ वटा मन्त्रालय थप्ने रणनीति बनाएका हुन् ।

प्रदेशमा हाल ७ वटा मन्त्रालय रहेकोमा अब ४ वटा थपेर कूल ११ वटा पुर्याउन लागिएको हो ।

एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा सुरक्षित देखिएका मुख्यमन्त्री पौडेल आफ्नै दल भित्रको अन्तरविरोधका कारण पनि संकट छन् ।

उनले माधव पक्षको समर्थनमा तत्कालको संकट टारेर आफ्नै नेतृत्वमा सरकार टिकाउन मन्त्रालय विस्तारको लागि पार्टीभित्र छलफल तीब्र पारेको स्रोत बताउँछ ।

नेकपा एमाले कानूनी रुपमा भने फुटिसकेको छैन । यदि एमाले आधिकारिक रुपमा विभाजन भएमा बागमती सरकार परिवर्तन हुने पक्का छ । विभाजन नभइ एमालेकै सरकार कायम रहेमा पनि मुख्यमन्त्री पौडेलले एकता जोगाउनको लागि मुख्यमन्त्री पद माधव पक्षलाई सुम्पिनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नेकपा एमालेकै नेतृत्वमा सरकार गठन हुँदा पनि मुख्यमन्त्री पौडेल संकटमा रहने प्रतिक्रिया दिएका छन् ।

एमाले एकता जोगाउन विभिन्न सहमति भएको र ती सहमति अनुसार अघि बढ्दा मुख्यमन्त्री पौडेलले योगदान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘नेकपा एमालेसंग स्पष्ट बहुमत छ । पार्टी एकताको लागि विभिन्न सहमति भएका छन् । सोही अनुसार हामीले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने क्रममा सरकारलाई समर्थन गरेका थियौँ । अब मुख्यमन्त्रीज्यूले योगदान गर्नुपर्ने बेला भएको छ । एमालेकै सरकार रहन्छ तर उहाँ मुख्यमन्त्री पदमा रहनुहुन्न ।’ उनले भने ।

त्यस्तै नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बागमती सरकार परिवर्तन जरुरी भएको प्रतिक्रिया दिएकी छिन् ।

तर, मुख्यमन्त्री पौडेल भने माधव पक्षलाई केही मन्त्रालय दिएर सरकारको नेतृत्व आफैंले गर्ने पक्षमा छन् । उनले थप्न लागिएको ४ वटा मन्त्रालय र माधव पक्षलाई दिने र सहमति जुट्न नसके अहिले आफ्नो पक्षको नेतृत्व रहेको सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत माधव पक्षलाई दिने मनस्थिति बनाएको स्रोतको भनाई छ ।

तु खबरले यस विषयमा जानकारी लिन नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलालाई जिज्ञासा राख्दा उनले मन्त्रालय थप गर्ने विषयमा पार्टीमा छलफल भएको स्वीकार गरे । प्रदेश सरकारलाई २२ वटासम्म मन्त्रालय थप्ने अधिकार भएको भन्दै उनले पार्टीभित्रको छलफलमा सहमति जुटे तत्काल ४ वटा मन्त्रालय थप गरिने बताए ।

‘पार्टी भित्रको विवाद मिलाउन केही मन्त्रालय थप गर्ने विषयमा छलफल भएको छ । तर कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अहिले केही टुंगो लागेको छैन ।’ उनले भने ।

निरौलाले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई नियन्त्रण गर्न एमालेकै नेतृत्वमा सरकार परिवर्तनको छलफल भएको स्पष्ट पारे ।

यता, नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले भने मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार असफल सावित भइसकेको र उनको नेतृत्व संकटमा परिसकेको बताएका छन् ।

उनले केन्द्रको निर्देशन पर्खिएको र प्राप्त हुनासाथ मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न आफुहरु तयार रहेको बताए ।

सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाइनु आजको आवश्यकता भएको भन्दै मुख्यमन्त्री पौडेलको बर्हिगमन नै जनताको चाहाना भएको बताए ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले केही दिनमा नै सरकार परिवर्तन हुने प्रतिक्रिया दिएका छन् ।

बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमालेको ५६ जसमा केपी ओली पक्षको ३४ र माधव नेपाल पक्षको २२ जना सांसद रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र अन्य विपक्षी दलहरुको ८ मत रहेको छ ।