मकवानपुरमा लागूऔषध कारोबारमा संलग्न १५१ जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार ०९:३९

मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा १५१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १३९ नेपाली पुरुष, ९ नेपाली महिला र तीन भारतीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत एक वर्षभित्र १ हजार ७ सय ९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हेरोइन र १४ किलो ७ सय ५० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी ७ हजार ३ सय ४७ ट्याब्लेट नाइट्रोभेट, ३ सय ९ ट्याब्लेट डाइजेपाम, २ सय ९९ ट्याब्लेट फेनारगन र ३ सय ७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २ सय ९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।