स्मृति दिवसमा वीपी बाटिकामा वृक्षारोपण

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १५:२६

मकवानपुर । वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरले वृक्षारोपण तथा विचार गोष्ठि आज आयोजना गरेको छ ।

समाजले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित वीपी बाटिकामा विभिन्न प्रजातिका ६० वटा फलफूलको विरुवा रोपेको हो ।

त्यस्तै नेपाली राजनीतिमा वीपीको योगदानको विषयमा विचारविमर्श समेत गरेको थियो ।

कार्यक्रममा वीपी विचार समूहका सल्लाहकार कृष्णप्रसाद हाहालले वीपीको विविध बहुआयामीक विषयमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

उनले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिबको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताए ।

कार्यक्रममा समाजका उपाध्यक्ष प्रदिप कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जीपी फाउण्डेशनका अध्यक्ष नारायण लम्साल, बर्तौला गुठीका सचिव ज्ञानेन्द्र बर्तौलालगायत कांग्रेसका सयौँ नेता तथा कार्यकर्ताहरु उपस्थित थिए ।

समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव हरिप्रसाद पौडेलले सहजिकरण गरेका थिए ।