मकवानपुरकी थापा मृत अवस्थामा फेला
२०७८ श्रावण ४, सोमबार ०९:०७
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ मा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
उक्त शव स्थानीय अन्दाजी ३६ वर्षीया मिना थापा मगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, थापाको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीको टोली पुगेको छ । शवको मचुल्का उठाउन उनको माइतीपक्ष आउँदै गरेको र माइतीपक्ष आइसकेपछि शवको मुचुल्का उठाउने उनले बताए ।
मृतक थापाको शव मुचुल्का उठाई पोष्टमार्टमको लागि हेटौँडा अस्पताल ल्याइने प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
