मकवानपुरमा मानव अधिकार उल्लंघनको घटना वृद्धि

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार ०९:०५

मकवानपुर । मकवानपुरमा मानव अधिकार उल्लंघनको घटना बढेको छ । जिल्लामा गत वर्ष ६२ वटा मानव अधिकार उल्लंघनको घटना भएको थियो । तर चालु वर्ष २०२१ को जनवरीदेखि जुनसम्ममा ४९ वटा उल्लंघटनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जनाएको छ ।

यो वर्षमा लकडाउन भएपनि मानव अधिकार उल्लंघनका घटना भने बढेको छ । हिंसामा धेरै महिला पीडित छन् । जनवरीदेखि जुनसम्मको ४९ घटनामा ५० जना पीडित भएका छन् भने सबैभन्दा धेरै ४७ जना महिला पीडित भएको इन्सेकलले सार्वजनिक गरेको छ । २३ जना बालबालिका पीडित भएकोमा १८ जना बलात्कार र ५ जना यौन दुर्व्यवहारबाट पीडित भएका छन् ।

यस्तै, जिल्लामा बालविवाहको घटना पनि बढेको सिविन बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए । उनले यसबारे अनुसन्धान गर्न आवश्यक भएको पनि बताए । उमेर नै नपुगी विवाह गर्ने र पछि सम्बन्धविच्छेद गर्ने जस्ता घटनाहरु ब्यापक भएको उनको भनाई छ।

यस्तै इन्सेक मकवानपुरले जिल्लामा दर्ता नभएका घटनाहरु या प्रहरीसँग भएको तथ्यांकलाई आधार मान्नपर्ने बालकल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाले बताए । जिल्लामा अहिलेको ६ महिनाको अवधिमा भने कुनै पनि मानव बेचबिखनका घटना दर्ता नभएको माइती नेपाल मकवानपुरका संयोजक माया लामाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*