कालीगण्डकी नदी डाइभर्सनका काम नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सनका कुनै पनि काम अघि नबढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले पाल्पाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा बाँध बनाएर पाल्पाकै तिनाउ दोभानमा सुरुङमार्गबाट पानी झार्ने र विद्युत् तथा सिंचाई गराउने सरकारको योजना थियो ।
तर पानीको प्राकृतिक वहावलाई नै परिवर्तन गर्ने र तल्लो तटीय क्षेत्र मरुभूमिकरण हुने भन्दै तनहुँ देवघाटका अधिवक्ता प्रकाशमणि शर्मासहितका कानुन व्यवसायीले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय लगायत ४० सरकारी निकायलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
