भानु जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १७:०५

मकवानपुर । २०८ औँ भानु जयन्तीको अवसरमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले सोमबार भर्चुअल प्रविधिबाट विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानको विषयमा चर्चा परिचर्चा गरिएको नवोदय साहित्यिक बगैंचा क्लबले जनाएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि रहेका भानुभक्त समालोचनात्मक दृष्टिकोण साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले आदिकवि भानुभक्त आचार्यलाई दुईवटा दृष्टिकोणबाट चर्चा परिचर्चा हुने गरेको बताएका छन् ।

‘महान काम गरे भनेर एकथरी मानिसले देवत्ककरण गर्ने काम गरे भने अर्का थरिले भानुभक्तले लेखेका लेख रचना, श्लोकहरुलाई आलोचना गर्नतर्फ केन्द्रीत भएको देखिन्छ । भानुभक्तले पुर्याएको योगदानलाई निमिट्यान्न पार्ने प्रयास साहित्यमा भएको पनि देखिन्छ ।’ निखिलले भने ।

भानुभक्तले लेखेको रचनालाई स्वस्थ आलोचना गरेमात्र उहाँलाई सम्मानका लागि सच्चा ठहरिने उनको भनाइ रहेको छ ।

सोमबार भएको विशेष कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक प्रदर्शन, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुको रचना वाचन गरेका थिए ।

कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकारबाट सुरेश श्रेष्ठले अहिलेको समयमा यति धेरै स्थान दिँदा पनि विद्यालयबाट जसरी विद्यार्थीका रचनाहरु आउनु पर्ने हो त्यति नआएको दुःख व्यक्त गरे ।

यसैगरी रचना वाचनमा पुरुषोत्तम आचार्य र प्रशन्ना चौलागाईंले २/२ वटा पद्यमा रचना वाचन गरेका थिए ।

नवोदय साहित्यिक बगैंचा बालक्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अनुषा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

गत वर्षदेखि नवोदय साहित्यिक बगैंचा बाल क्लबले भानुजयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*