बागमती प्रदेशमा ४ प्रकारका विश्वविद्यालय सम्भावित
मकवानपुर । बागमती प्रदेश सरकारले आफनै विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गरेको छ । उच्च शिक्षाको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापना गर्न आवश्यक महसुस गरी प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरी सकेको हो ।
प्राध्यापक युवराज संग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा ४ प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको थियो । बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न धेरै पूँजी लगानी गर्नु पर्ने अध्ययनले देखाएको छ।
सार्वजनिक विश्वविद्यालयको जताजतै क्याम्पसहरु नहुने, तर अध्ययन अनुसन्धान केन्द्र, परीक्षा केन्द्र तथा सामुदायिक क्याम्पसहरु सदस्य हुनसक्ने भनिएको छ । प्रदेश सरकारले गठन गरेको कार्यदलले बनाएको अध्ययन प्रतिवेदनमा चिकटगाक विश्वविद्यालय स्थापना गर्ने, विकास भएका कलेजलाई नै विश्वविद्यालय बनाउने, कुनै खास क्षेत्रको सामुदायिक क्याम्पस वा आंगिक क्याम्पसलाई विश्वविद्यालय बनाउने जस्ता विकल्प उल्लेख गरिएको छ।
गत महिना सामाजिक विकास मन्त्रालयले उच्चशिक्षा सम्बन्धि विधेयक प्रदेश संसद् सचिवालयमा दर्ता गरेको विधेयक सोमबारको प्रदेशसभा बैठकले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
समितिमा दफावार छलफल भएपछि प्रतिवेदन तयार भएर उक्त विधेयक पुनः संसद्मा छलफलका लागि आउने र संसद्बाट पारित भएपछि ऐन बन्नेछ।
गत पुस मसान्तमा सामाजिक विकास मन्त्रीसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिवेदन ग्रहण गर्दै चालु आर्थिक वर्षमा प्रदेश विश्वविद्यालय विधेयक पारित गरेर विश्वविद्यालय स्थापनाको काम अघि बढाउने बताएका थिए।
