प्रधानमन्त्री र राष्ट्रपतिले मनोमानी गरेका थिए, अदालतले सच्याइदियो – राजेन्द्र पाण्डे

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १६:३१

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक संविधानमाथि प्रहार गरेपनिण् आज सर्वोच्चले अदालतले त्यसको विपक्षमा फैसला गर्नु स्वागतयोग्य भएको बताएका छन् ।

तु खबरसंग कुराकानी गर्दै नेता पाण्डेले नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानमाथि सरकारबाटै प्रहार हुनु गलत भएको भन्दै अदालतले जनताप्रति स्वतन्त्र न्यायपालिकाको अनुभूति गराएको प्रतिक्रिया दिए ।

‘दल एउटै भएपनि हामीले गलत कुराको समर्थन गर्ने कुरा हुँदैन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेर जुन हर्कत गर्नुभयो, त्यो ठिक थिएन । हामीले भन्दै आएका थियौँ । आज प्रमाणित नै भयो । ’ उनले भने ।

पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा विभिन्न प्रदेश सरकारमा पनि यसको तरङ्ग पैदा हुन सक्ने उनले बताए ।

उनले भने ‘अन्य प्रदेशमा यसको असर पर्न सक्ने देखिन्छ । अन्य प्रदेशमा विभिन्न दलहरुसंग मिलेर सरकार टिकाउनु पर्ने बाध्यता भएपनि बागमती प्रदेशमा भने नेकपा एमालेको स्पष्ट बहुमत भएको कारण यहाँ प्रत्येक्ष प्रभाव नदेखिन सक्छ । अहिले नै हामी यसो गर्छौँ भन्न सक्दैनौँ । हामी केन्द्रको निर्देशन पर्खिरहेका छौँ । सोही अनुसार गर्छौँ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*