रातको अन्धकारमा पास गरिएको बजेट हामीलाई स्वीकार्य हुँदैनः रमेश पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले रातको अन्धकारमा बजेट पास गरेको बताएका छन् ।
सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै नेता पौड्यालले प्रतिपक्ष दलहरुको सुझावलाई उपेक्षा गर्दै रातको अन्धकारमा रातारात बजेट पास गरेर आफ्नो लाचारीपना सबैमाझ देखाएको आरोप लगाए ।
उनले भने ‘ प्रदेश सरकारलाई रातारात बजेट पास गर्नुपर्ने के त्यस्तो बाध्यता आइपर्यो, के त्यस्तो समस्या भयो ? खर्च कटौतीको प्रस्तावमाथि छलफल हुँदाहुँदै विद्युत अवरुद्ध हुँदा बैठक अव्यवस्थित भएकोले हामीले सोमबार पुनः बैठक बसी बजेटमाथि छलफल गर्न आग्रह गरेका थियौँ, तर प्रदेश सरकारले निकम्मा र लाचारी बजेट ल्याएकै कारण रातारात पास गर्नुपरेको हो ।’
उनले यो बजेट निकम्मा, कनिका छर्ने खालको र लाचारी भएको भन्दै टिप्पणी गरे । विवेकशील साझा दललाई यो बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाई छ ।
